शून्यको मूल्यलाई नजिकबाट नियाल्दा
शून्यको मूल्य सास, साहस र स्नेहको कथा डा.नवराज केसीद्वारा लेखिएको सिर्जनात्मक गैरआख्यान हो । सुर्खेतमा जन्मिएका डा.केसी पेशाले बालरोग विशेषज्ञ हुन् । कर्णालीका दुर्गम ठाउँमा पुगेर काम गर्दा त्यहाँका आमाका सास,साहस र स्नेहको कथा देखेका केसीको यो पहिलो कृति हो । कर्णालीको सेरोफेरोमा बुनिएको यस कृतिमा कर्णालीको सिँगो समाज चित्रित छ । पुस्तकमा ‘बुधेकी फुपूआमा’, ‘बुवालाई चिठी’, ‘भेडिनी कान्छी’, ‘मृत्युपछिको जीवन’, र ‘पुतली आमा’ गरी जम्मा पाँच वटा आमाहरूको कथा प्रस्तुत गरिएको छ । त्यस्तै यी पाँचवटा कथाहरूका बिचमा नानी आमा, हिम्मतबहादुर, भीमकाजी, जुम्ल्याहाका बाआमा लगायत सम्पूर्ण आमा र आमा नभइकन पनि आमा बनेका आमाहरूको कथा समेटिएको छ । लेखकले पुस्तकको सुरुवातमै ‘शून्यको मूल्य’ बारे रुचि जगाउन गहकिलो तर्क पेस गरेका छन् । जसमा संयुक्त राष्ट्रसंघका दिगो विकाससम्बन्धी १७ वटा लक्ष्य प्रस्तुत गरिएको छ ।
२ सय ४३ पानाको पुस्तक बुधेकी ‘फुपूआमा’ देखि सुरु भएर ‘पुतली आमा’मा पुगेर सकिन्छ । एउटा कथा अर्काे कथाहरूसँग मिसिएको छ । भेडेनी कान्छीले छोरा बचाउनलाई गरेको सङ्घर्ष, पेटभित्रको बच्चाले बाउलाई लेखेको चिठी, बच्चाप्रतिको मायाले गर्दा मरेको बच्चालाई आमाले दूध चुसाएको प्रसङ्ग पढ्दा मन भने भकानिएर आउँछ । कर्णालीको स्वास्थ्य अवस्थाको चित्रण पढ्दा बेला बेलामा आङ नै सिरिङ्ङ भयो भने कुनै कुनै कथा आफ्नो जीवनसँग पनि मेल खान गयो जसका कारण पुस्तक पढ्न झन् झन् रुचि जाग्यो । बुधेकी फुपूआमाको हिम्मत अनि बुधे र उनकी दिदीले एउटै कापी र कलम पनि पिरियडपिच्छे आलोपालो गरेको घटनाले मनमा कता कता चसक्क भने भएकै हो । लोग्नेले पिट्दा एउटा आँखा गुमाएकी कर्कीनी बज्यै र गर्भावस्थामा आफ्नो लोग्नेले पेटमा लातीले हान्दा मृत सन्तान जन्माउन परेको आमाले लोग्नेलाई दिएको क्षमा र माफीको कथा साँच्चै मन छुने छ । त्यस्तै बिना नामकी एउटी आमाले बोकेर अस्पताल ल्याएको छोराले बिरालोको आवाज निकाल्नुको कारण आफू समाजबाट छुट्टिएर बस्न परेको र आफ्नो सन्तानलाई समय दिन नसकेको भन्ने थाहा पाई डाक्टरको सल्लाह बमोजिम गर्दा छोरोलाई निको भएको कथा यस पुस्तकमा उल्लेख गरिएको छ । हुम्लाबाट गम्भीर स्वास्थ्य समस्या भएको बच्चालाई हेलिकप्टरबाट सहरसम्म पु¥याएको र उपचारका लागि दश वटा भेडा बेच्न पर्ने अवस्था कर्णालीमा रहेको तितो यथार्थको बारेमा व्याख्या गरिएको छ ।
पुस्तकमा डाक्टरले कर्णाली जस्तोे विकट ठाँउमा उपचार गर्ने चिकित्सक कस्तो हुनुपर्छ भन्ने चित्र डाक्टरको भुमिकाबाट प्रस्ट पारेका छन् । डाक्टर आफ्नो पेशाप्रति निष्ठावान् भएर लागेका छन् साथै उनको समाज सेवाप्रतिको कर्म समेत प्रशंसा गर्न लायकको रछ । कलम–कापीको अभावमा पढिरहेका स्कुले बालबालिकालाई शैक्षिक सामग्रीको सहयोग प्रदान गर्न पाउँदा डाक्टरले खुसी व्यक्त गरेका छन् । डा.केसीले कथाको बिचमा विभिन्न देशको तथ्याङ्कको बारेमा समेत चर्चा गरेका छन् । जसका कारण अन्य देशको बारेमा समेत पुस्तक पढ्दै गर्दा जानकारी पाइयो । जस्तो कि ः नातिनातिनाको हेरचाह गरेर देशलाई करिब सात विलियन बेलायती डलर वार्षिक रुपमा कमाएर दिने र बालबच्चाको सुसारेको काम उहाँहरूले निशुल्क गरिदिँदा देशलाई भएको फाइदा पुगेको कुराको वर्णन डा.केसीले गरेका छन् । त्यसैगरी विश्वविद्यालयमा अध्ययनको क्रममा डाक्टरका गुरु मिश्र सरले बुझाएका मानव पुँजीमा लगानीको फिर्ता दरको रेखा चित्र समेत पुस्तकमा देखाइएको छ । न्युरोनको विकासक्रमसँगै मानिसको स्वभाव निर्धारण हुने बारे रोमानियाको सन्दर्भलाई समेत पुस्तकमा उल्लेख गरिएको छ ।
पुस्तकका सबै कथाहरू सुन्दर हुँदा–हुँदै पनि केही कथाभित्र आउने उप–कथाहरूले मुख्य कथा बुझ्न पाठकलाई समस्या हुन्छ । कुनै ठाँउका वाक्यहरू एकदम मिठासपूर्ण रहेका छन् भने कतै भने पढ्न अल्छी लाग्ने वाक्यहरूको प्रयोग भएका छन् । त्यस्तै विभिन्न कथामा प्रमुख पात्रको भूमिकामा रहेको भेडिनी कान्छी, पुतली आमा, बुधे, हिम्मतबहादुर लगायतका व्यक्तिहरूको व्यक्तिगत विवरण उल्लेख नहुँदा उनीहरूको आनीबानी स्वभाव थाहा पाउन पाठकलाई गाह्रो भएको छ । भाषिक मौलिकताका लागि लेखकले जनबोलीको प्रयोग गरेका छन् तर जनबोलीका कतिपय शब्दहरू परिष्कृत गरी प्रयोग गरेको पाइन्छ । डाक्टरी भाषाको प्रयोगले पाठकलाई बुझ्न भने अलि असहज भएको छ ।
समग्रमा कृतिको अध्ययन गर्दा कर्णाली र त्यस आसपासमा बसोबास गर्ने आमाहरूको सङ्घर्ष, जीवन भोगाइका तिता सन्दर्भहरू अनि डाक्टरहरूले त्यस क्षेत्रमा गरेका योगदानको प्रशंसा शून्यको मूल्यले तिरेको छ ।
Comments
Post a Comment