५ वर्षमा १ लाख ७० हजार भन्दा धेरैले गरे सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता

 प्रतिमा सापकोटा
 
चैत ३०, काठमाडौं । विवाह महिला र पुरुष बीच दाम्पत्य तथा पारिवारिक जीवन प्रारम्भ गर्न दुईबिचको सहमतिमा आधारित पवित्र सामाजिक तथा कानूनी बन्धन हो । तर हाल विवाह बन्धनबाट छुटकरा पाउन र स्वतन्त्र भएर जिवन जिउनका लागि मानिसहरुले सम्बन्ध विच्छेद गर्ने गरेका छन् । जब पति पत्नी एकसाथ अगाडि बढ्नै नसक्ने अवस्था आउँछ, उनीहरुले अलग हुने निर्णय गर्छन् ।

वि सं २०२० मा पुरानो ऐनको ब्यबस्थालाइ परिवर्तन गरि नँया मुलुकी ऐन लागुभए पश्चात महिला र पुरुष दुबैलाई सम्बन्धबिच्छेद गर्न अनुमति दिइयो तर यसमा पनि महिलाका अधिकारहरुमा सीमितता थिए । यस बेलासम्म आइपुग्दा पनि सम्बन्धबिच्छेदको कानुनी प्रक्रिया कठिन थियो, जसले गर्दा धेरै मानिसहरू जबरजस्ती विवाह बन्धनमा बाँधिएरै बस्दथे । नेपालमा २०७५ सालमा लागू भएको नयाँ मुलुकी देवानी संहिता २०७४ ले सम्बन्ध बिच्छेदलाई थप व्यवस्थित र महिला पुरुष दुबैको हकमा समान जस्तै बनाइ दियो । 

 नेपालमा पनि सम्बन्ध विच्छेदका क्रम बढेको छ । अदालतमा आउने सम्बन्धविच्छेदका मुद्दामध्ये अधिकांश मुद्दा उमेर नपुग्दै प्रेमविवाह गर्ने र २० देखि ३० वर्षको मानिसले दायर गर्ने गरेका छन्। सम्बन्ध विच्छेदको निवेदन दर्ता गर्दा पुरुषको तुलनामा महिला बढी सक्रिय देखिएका छन् । करिब ६०% केसमा महिलाले  सम्बन्ध विच्छेदको निवेदन दिइरहेका छन्। 

हाल नेपालमा करिब ४–५% विवाहहरू सम्बन्धविच्छेदमा टुंगिने गरेका छन्। यो दर पश्चिमी देशहरूको तुलनामा अझै कम भए पनि, विगतका दशकहरूमा अत्यन्तै दुर्लभ मानिएको सम्बन्धविच्छेदमा उल्लेखनीय वृद्धि भएको संकेत गर्दछ । देशभरि छिनिएका मुद्दाको संख्या हेर्दा सरदरमा दैनिक करिब ७४ जोडीले अदालतबाटै कानुनी रूपमा सम्बन्ध विच्छेदको प्रमाणपत्र लिने गरेका छन्। सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा धेरै जिल्ला अदालतहरूमा दर्ता हुने गरेका छन्।



माथिको वृत चित्रबाट पनि के प्रष्ट हुन्छ भने हरेक वर्ष हजारौको सख्यामा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता हुने गरेको पाइन्छ । सर्वोच्च अदालतको तथ्याङक हेर्ने हो भने आर्थिक वर्ष २०८०/८१  मा ४०,३२० जनाले जिल्ला ,उच्च र सर्वोच्च अदालतमा सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरेका छन्। 

त्यस्तै आ.व २०७९/८० मा ४०,१८३ सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका थिए भने आ.व २०७८/७९ मा ३७,४३४ सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको थियो। आ.व २०७७/७८ मा २७,४२५ सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएकोमा आ.व २०७६/७७ मा २५,४३२ सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको सर्वोच्च अदालतले सार्वजनिक गरेको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ। आ. व २०७६/७७ मा २७ हजार भन्दा धेरैले मुद्दा दायर गरेकोमा आ. व ८०/८१ मा त्यो सख्या बढेर ४० हजार भन्दा धेरै पुगेको छ । यसबाट के प्रष्ट हुन्छ भने मानिसहरु स्वतन्त्र भएर बस्न रुचाउन थालेका छन् । आफु कसैको पनि अधिनमा नरहने र समाजले के भन्ला भन्ने डरबाट मुतm भएको पाउन सकिन्छ । 

सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन अनुसार २०८०/ ८१ मा सबैभन्दा धेरै काठमाडौँ जिल्ला अदालतमा सम्बन्ध विच्छेदको लागि मुद्धा दायर भएको छ । त्यस्पछि भने चितवनमा बढि १४८१ जनाले डिर्भोसका लागि मुद्धा दायर गरेका छन् । सबैभन्दा कम रसुवामा जम्मा ११२ जनाले मुद्धा दायर गरेको सर्वोच्च अदालतले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 




श्रीमान श्रीमतीबीच बेमेल, उमेरको अन्तर, एकले अर्कालाई शंका गर्ने, रिस, दमन, कुटपिट, मानसिक हिंसा, आर्थिक अपचलन, अन्य केटा वा केटीसँग हिँड्ने, विवाहपछिका प्रेमसम्बन्ध, सम्पत्तिसम्बन्धी किचलो, पितृसत्तात्मक सोच इत्यादिले पनि सम्बन्धविच्छेदलाई बढावा दिइरहेका छन् । 

पछिल्लो समय सम्बन्ध–विच्छेदका लागि निवेदन दिनेमा वैदेशिक रोजगारीबाट फर्केका, अन्तरजातीय तथा बहुविवाह गरेका  पुरुष बढी देखिएका छन् । विदेशमा पति वा पत्नी गएपछि परपुरुष वा स्त्रीसँग लागेको, विदेशबाट पठाएको रकम हिनामिना गरेको र शारीरिक–मानसिक यातना दिएको भन्दै सम्बन्ध–विच्छेदका लागि निवेदन दिनेको लर्को लागेको छ। वैदेशिक रोजगारीमा गएका पुरुष उतै अर्को विवाह गरेर पहिलो श्रीमतीलाई सम्बन्ध–विच्छेद गर्न दबाब दिएका घटना पनि सार्वजनिक भइरहेका छन् ।

नारीहरुले अहिले मिलेर बस्नुपर्छ, घर गरेर खानुपर्छ, श्रीमान्लाई सम्मान गर्नुपर्छ, उसको शरणमा बस्नुपर्छ भन्ने मान्यता भत्काउँदै छन् । नारी सहनशीलता, धैर्यता र लचकता टुटाउँदै म पनि ऊभन्दा के कम भन्ने कुरामा जोड दिदैँ सम्बन्ध–विच्छेद गर्ने महिलाको संख्या बढ्दै छ । पहिले–पहिले सम्बन्ध–विच्छेद गर्ने कानुन नहुँदा आपसमा जतिसुकै झैझगडा, मनमुटाव, हिंसा र दुव्र्यवहार भए पनि पतिभक्ति भावनाका कारण महिला, सम्बन्ध–विच्छेद गरी अलग हुने कुरा सोच्नसम्म सक्दैनथे । तर अहिले लोग्ने–स्वास्नीको झगडा बाहिर भन्न हुँदैन, पतिसँग वैरभाव राख्न हुँदैन भन्ने महिलाको मानसिकता परिवर्तन भएको छ । महिला शिक्षित, सचेत र सशक्त तथा कानुनबारे जानकार भएका छन् । उनीहरूमा आफ्नो सम्मान र स्वतन्त्रता तथा लैंगिक समानताको अपेक्षा बढ्दै गएको छ ।


को को कलाकारको भयो त सम्बन्ध विच्छेद ?


त्यस्तै नेपालमा पारिवारिक समस्याका कारण कतिपय नेपाली कलाकारको दाम्पत्य जीवन असफल भइरहेको छ । सेलिब्रेटीमा गनिने गायक गायिका, नायक नायिका स्टेज पर्दामा बाहीबाही बटुल्ने कलाकारहरुको अपबादमा बाहेक प्राय धेरैको बैबाहिक र पारिवारिक जीवन अशान्त छ । नेपाली रंगमञ्ज तथा कला क्षेत्रमा लागेका थुप्रै कलाकारहरुको दाम्पत्य जीवन बिचैमा टुटेका छन् ।

हास्य व्यंग्यमार्फत दुनियाँलाई हसाउँने कलाकार मनोज गजुरेल र मिना ढकाल आफ्नो पारिवारिक जीवनमा भने असफल सिद्ध भए । झण्डै २० वर्ष पुरानो उनको पहिलो वैवाहिक सम्बन्धलाई कानुनी रुपमै बिट मार्दै जीवनको उत्तरार्धकालमा उनले नयाँ दाम्पत्य जीवनसुरु गरे । चचिर्त चलचित्र निर्माता छविराज ओझा र नायिका हुन् रेखा थापा वैवाहिक सम्बन्ध धेरै वर्ष टिक्न सकेन । रेखासँगको सम्बन्ध–विच्छेद पश्चात ओझाले अर्की नायिका शिल्पा पोखरेलसँग विवाहगरे । उनीहरुबीचको सम्बन्ध पनि अंशबन्डा पश्चात सहमतिमा टुंगिएको हो । 

पछिल्लो पुस्ताको चर्चित गायिका एलिना चौहान र अस्ट्रेलियामा बस्दै आएका विष्णु सापकोटासग हालै सम्बन्ध विच्छेदका भएको छ । 

भुवन केसी र सुस्मिता बम्जनको सम्बन्ध पनि विभिन्न विवाद र आरोपप्रत्यारोप पछि टुगिंएको थियो । सांगीतिक क्षेत्रकी सर्वाधिक रुचाइएकी गायिका गायिका अञ्जु पन्तको वैवाहिक जीवन भने सुमधुर रहन सकेन । विवाह भएको करिब दश वर्षपछि श्रीमान् मनोजराज सिवाकोटीसँग अलग हुनु प¥यो । शंका, उपशंका हुँदै कुटपिटसम्मको घटनापछि अञ्जुले डिभोर्सको बाटो रोजिन् । हाल अञ्जुले इलामका थीर कोइरालासँग दोस्रो विवाह गरेकी छन् ।

 फिल्मी क्षेत्रमा प्रवेश गरेकी नायिका प्रिंयका कार्कीको पहिलो वैवाहिक सम्बन्ध पनि लामो समय टिक्न सकेन । पति रोचक मैनालीसंग अमेरिका बस्ने गरी गएकी प्रियंका डेभोर्सपछि नेपाल फर्किएकी थिइन् । नेपाल फर्किए पछि चलचित्रमा सक्रिय बनेकी कार्कीले आयुष्मान देशराज जोशीसँग विवाह बन्धनमा बाधिइन्। रिमा विश्वकर्मा पनि वैवाहिक सम्बन्धलाई टिकाउन नसक्ने नायिकाको रुपमा चिनिन्छिन् । रोबर्ट विश्वकर्मासंग विवाह सम्बन्धमा बाधिएकी रिमाको पनि दाम्पत्य जीवन सुखद रहन सकेन ।

नायिका अरुणिमा लम्सालको पनि पहिलो विवाह सफल हुन सकेन । हाल दोस्रो विवाह पनि खटपटको अवस्थामा रहेको उनको सामाजिक सञ्जालले संकेत गरेको छ । आफ्नो सामाजिक सन्जालबाट उनलेश्रीमानका सबै फोटो हटाएसँगै वैवाहिक सम्बन्धमा दरार आएको शंका गरिएको छ । छोराछोरीका साथ अमेरिकामा बस्दै आएकी अरुणिमाले अमित अर्यालसँग पहिलो विवाह गरेकी थिइन् । उनीसँग छुट्टिएपछि लम्सालले दोस्रो विवाह गरेकी थिइन् ।

अभिनेत्री वर्षा सिवाकोटीले पनि आफ्नो वैवाहिक सम्बन्ध टिकाउन सकिनन् । अमेरिकामा बसोबास गर्दै आएका आशिष गेलालसँग विवाह बन्धनमा बाँधिएकी वर्षाको नौ महिनामै वैवाहिक सम्बन्ध टुंगिएको थियो । लोक दोहोरीमा छाएकी गायिका बबिता बानियाँ ‘जेरी’ पनि वैवाहिक जीवन टुट्ने कलाकारको सूचीमा पर्छिन् । बबिता बानियाँ ‘जेरी’ र गायक शंकर क्षेत्रीको पनि सम्बन्ध बिच्छेद गर्ने गायक गायिककोे नै सुचिमा परेका छन्। गायक रामकृष्ण ढकाल र नीलम शाहको पनि सम्बन्ध–विच्छेद भएको हो।अभिनेत्री अरुणिमा लम्सालको दोस्रो बिहे पनि संकटमा परेको छ। गत भदौमा सुनसरीका युवराज श्रेष्ठसँग बिहे गरेकी उनले श्रीमानसँग छुट्टिने निर्णय गरेकी हुन्।  वैवाहिक सम्बन्ध नटिक्नुमा अरुणिमाले श्रीमानलाई दोष दिएकी छिन्। सुनसरीका कांग्रेस नेतासमेत रहेका युवराजले बिहेअघि आफूसँग धेरै कुरा ढाँटेको उनको आरोप छ। यी त केही प्रतिनिधिमुलक पात्र मात्रै हुन् । यस्ता अन्य धेरै कलाकारहरुले सम्बन्ध विच्छेद गरेका छन्।


 महिला र पुरूषले सम्बन्ध विच्छेद गर्न पाउने आधारहरु

मुलुकी देवानी संहिता २०७४ को दफा ९५ पत्नीले सम्बन्ध विच्छेद गर्न पाउने आधार महिला र पुरूषको लागि छुट्टाछुट्टै तोकिदिएको छ । पुरूषले डिभोर्स गर्न चाहेमा निवेदनमा महिलाको कारण डिभोर्स गर्न चाहेको भनेर उल्लेख गर्नुपर्छ । पतिले तीन आधारमा डिभोर्सको निवेदन दर्ता गर्न मिल्छ । 

पहिलो आधार, श्रीमतीले श्रीमानको मन्जुरीबिना तीन वर्ष वा बढी समय छुट्टिएर बसेको छ भने पुरूषले डिभोर्सको लागि आवेदन दिन सक्छन् । दोस्रो आधार, श्रीमतीले श्रीमानलाई खान लाउन नदिएर घरबाट निकालिदिएको, वा अंगभंग हुने गरी कुटपिट गरेको, मानसिक र शारीरिक तनाव दिने गरेको पुष्टि भएमा सम्बन्ध विच्छेद गर्न पाउँछ । साथै श्रीमतीले परपुरूषसँग शारीरिक सम्बन्ध राखेको ठहरिएमा पनि पुरूषले डिभोर्सको लागि पहल गर्न मिल्छ । 

यसैगरी श्रीमतीले सम्बन्ध विच्छेद गर्ने आधार पनि छन्। ती आधार देखाएर सम्बन्ध विच्छेदको निवेदन दिन सक्छन् । पहिलो आधार, श्रीमान–श्रीमतीबीच अंशबण्डा नभई श्रीमानको मञ्जुरीबिना तीन वर्ष वा बढी अवधिदेखि छुट्टिएर बसेको भए महिलाले सम्बन्ध विच्छेदको निवेदन दिन पाउँछन् । दोस्रो, श्रीमानले अंगभंग हुने गरी कुटपिट गरी मानसिक तनाव सृजना हुने गतिविधि गरेमा वा खाना लाउन नदिएर घरबाट निकालिदिएको अवस्थामा वा श्रीमानले बहुविवाह गरेको अवस्थामा महिलाले सम्बन्ध विच्छेदको कानुनी प्रक्रिया अघि बढाउन सक्छन् ।  

तेस्रो,  श्रीमानले परस्त्रीसँग शारीरिक सम्पर्क राखेको ठहरिएमा पनि महिलाले डिभोर्सको लागि निवेदन दर्ता गर्न मिल्छ । चौंथो, श्रीमानले श्रीमतीलाई बलात्कार गरेको पाइएमा पनि महिलाले सम्बन्ध विच्छेदको लागि मुद्दा दर्ता गर्न पाउने आधार हुन्छ ।

सम्बन्धविच्छेदले  सन्तानमा पार्ने असर


स्रोत: ग्लोबल प्रेस जर्नल

बाबुआमाले सम्बन्धविच्छेद गरेको अवस्थामा सबैभन्दा बढी नकारात्मक असर तिनका सन्तानमा पर्न जान्छ। बाबुआमाको सम्बन्धविच्छेद भएका बालबालिकाले उनीहरूको साथ मात्रै गुमाएका हुँदैनन्, सँगसँगै आर्थिक अभाव, सामाजिक, पारिवारिक समस्याबाट समेत गुज्रिनुपर्ने हुन्छ। पति–पत्नीको सम्बन्धविच्छेदमा तिनीहरूका सन्तानको भविष्य पनि सँगसँगै जोडिएको हुन्छ। सानातिना विवादमा बाबुआमाले सम्बन्धविच्छेद गरे तिनका नाबालक सन्तान आफ्ना आमाबाबुको मायाबाट विमुख भई कुलतमा फस्ने जोखिम पनि रहन सक्छ।  कतिपय बालबालिका हिसात्मक सिकार जस्तैः–बालबालिका वेचविखन, बलात्कार, घरेलु हिंसा, सडके बालबालिका बन्न र अबैध धन्दा गर्ने थालेका छन् यसले गर्दा भोलिका कर्णदार आज कुलतमा लागेको अवस्था छ ।  यी सवालमा समेत पक्षहरूमा ध्यानाकर्षण हुनु जरुरी देखिन्छ। 


Comments

Popular posts from this blog

Misinformation on social media