‘पेज थ्री’ चलचित्रमाथि एक समीक्षा


सन् २००५ जनवरी २१ देखि भारतमा प्रदर्शन भएको चलचित्र हो ‘पेज थ्री’। मथुर भण्डारकरले निर्दशन गरेका र बबी पुष्कर्ण र कविता पुष्कर्णले निर्माण गरेको चलचित्र  मुम्बई शहरको संस्कृति र मिडियाको बारेमा देखाइएको छ । चलचित्रमा कोनकोना सेन शर्मा, अतुल कुलकर्णी, सन्ध्या मृदुल, तारा शर्मा, अन्जु महेन्द्र र बोमन इरानीले अभिनय गरेका छन् भने कोनकोना प्रमुख भूमिकामा रहेकी छिन् । यस चलचित्रले उत्कृष्ट फिल्मको लागि गोल्डेन लोटस अवार्ड सहित तिन वटा राष्ट्रिय चलचित्र पुरस्कार समेत हात पारिसकेको छ । पेज थ्री पत्रकारको माध्यमद्वारा मनोरञ्जन क्षेत्रसँगै अपराधको दुनियाँको बारेमा बनाइएको सफल चलचित्र हो । पेज थ्री पत्रिकाको यस्तो पृष्ठ हो जसका लागि कलाकारहरूले पैसा खर्च गरेर त्यहाँ आफ्नो अनुहार र नाम छपाउँछन् । हरेक बिहान पेज थ्रीमा कसका बारे के लेखियो भनेर विशेष चासो दिइन्छ ।
चलचित्रमा विचलित परिवार, डिप्रेसनले निम्त्याएको आत्महत्या, धोका, श्रीमतीको अदलाबदली, लागुऔषध बेचबिखन, बाल वेश्यावृत्ति जस्ता धेरै महवत्पूर्ण मुद्दाहरूको उजागर गरिएको छ । समलैङ्गीकता र उभयलैङ्गीकता जस्ता कुराहरू खुला रूपमा बाहिर ल्याउने काम यो चलचित्रले गरेको छ । मान्छेको पछाडि कुरा काटने, सेलिब्रेटीको अन्त्येष्टिमा नेटवर्किङ र अङ्ग्रेजीमा लेख्ने पत्रकारहरूलाई दिइने विशेष व्यवहार जस्ता अन्य घटना यस चलचित्रले देखाएको छ  । बोमन इरानीले सम्पादकको हैसियतमा व्यक्तिगत भावना र नैतिकता भए आफ्नो कर्तव्य पुरा गर्नैपर्छ भन्ने कुराले आजका अधिकांश पत्रिकाका सम्पादकहरूको वास्तविक अवस्था झल्काउन सफल भएका छन् । 

माधवी शर्मा (कोन्कोना सेन शर्मा) एक युवा पत्रकार हुन्, जो मुम्बई जागिरको खोजिमा आइपुग्छिन् । उनीलाई अखबारका सम्पादक दीपक सुरी (बोमन इरानी) द्वारा नियुक्ति गरिएको छ । उनीलाई पेज थ्री को लागि लेख्ने जिम्मेवारी दिइएको छ । उनले पार्टीमा गायत्री (तारा शर्मा) लाई भेट्छिन् जो फिल्म स्टार बन्न मुम्बई आएकी निर्दोष र सोझी केटी हुन् । गायत्री माधवी र उनको साथी पर्ल (सन्ध्या मृदुल) सँगै बस्छन् । पर्ल एक घमण्डी र आत्म–विश्वस्त एयरहोस्टेस हुन । गायत्री एक विवाहित मोडलसँग प्रेममा पर्छिन् । उनी प्रेगनेन्ट समेत हुन्छिन् । तर उनलाई मोडलले वास्ता नगरेपछि आत्महत्या गर्न खोज्छिन् तर माधवी र पर्लले देखेर उनलाई हस्पिटल लान्छन् र उनी बाँच्न सफल हुन्छिन् भने पेटको बच्चाको मृत्यु हुन्छ । उनी मुम्बई नबस्ने निधो गरी आफ्नै गाउँ फर्किन्छिन् । पर्ल पनि एक धनी बुढोसँग विवाह गरेर अमेरिका जान्छिन् । त्यसपछि माधवी एक्लै बस्न थाल्छिन् । उनी पनि एक जना तरुण भन्ने मोडलसँग प्रेममा पर्छिन् । तर पछि ऊ एक जना पुरुषसँग यौन सम्पर्क गरेको देखेर माधवीले तरुणसँग सम्बन्ध तोड्छिन् । यहाँ उनको प्रेम असफल भएको छ ।  चलचित्रमा उद्योगपति रोमेश थापरकी श्रीमती अञ्जली थापर पनि छिन् । अञ्जली बाल गृह चलाउँछिन् । माधवीले उनीसँग राम्रो सम्बन्ध गाँसेकी हुन्छिन् । जब अञ्जलीको मृत्यु हुन्छ, माधवीले  पेज थ्रीमा काम नगर्ने निर्णय गर्छिन् र विनायक मानव (अतुल कुलकर्णी) को सहायकको रूपमा अपराध बिटमा काम गर्छिन् ।  यहाँ काम गर्दा उनले थाहा पाउँछिन् कि अञ्जलीको मृत्युको कारण उनको श्रीमानले आफ्नै बालगृहबाट बच्चा लगेर उनीहरूको फाइदा उठाउँछन् । तर पछि फेरी माधवी पेज थ्री मा नै काम गर्न थाल्छिन् र चलचित्रको अन्त्य हुन्छ ।

पेज थ्री फिल्म सुरुदेखि अन्त्यसम्म दर्शकको ध्यान खिच्न सक्षम छ । यस चलचित्रकी मुख्य पात्र माधवीले प्राकृतिक अभिनय गरेकी छिन् भने उनी पत्रकारको भुमिकाको लागि योग्य समेत देखिएकी छिन् । कुनै कुनै बेला ड्राइभरको भूमिकामा आउने कलाकारहरूले समेत चलचित्रलाई अझ बढी जीवन्त र राम्रो बनाइदिएका छन् । यस चलचित्रका दुई सङ्गीतहरू ‘कित्ने अजिब’ र ‘हजुर –ए–अला’ लता मङ्गेशकर र आशा भोस्लेले गाएका छन । चलचित्रको लेखन निकै राम्रो रहेको छ भने समाप्त भने अलि राम्रो भएको छैन । माधवी पेज थ्री मा पुनः नफर्कीकन अन्य बिटमा काम गरेर सफल भएको भए अझ रोचक हुन्थ्यो । चलचित्रमा प्रयोग भएको साउन्डट्रयाक पनि त्यति उत्कृष्ट भने छैन  । समग्रमा चलचित्रले पत्रकारिता क्षेत्रको वास्तविक सत्यतथ्यलाई मार्मिक ढङ्गले पस्किन सकेको छ । 


Comments

Popular posts from this blog

Misinformation on social media

सङ्ख्यात्मक रूपमा सञ्चार माध्यमहरूको वृद्धि भए पनि गुणस्तर भने खस्कँदो