सङ्ख्यात्मक रूपमा सञ्चार माध्यमहरूको वृद्धि भए पनि गुणस्तर भने खस्कँदो

प्रजातन्त्रको प्राप्तिसँगै नेपालको पत्रकारिता क्षेत्रमा ठूलो परिवर्तन आएको छ । प्रजातन्त्रपछि नै नेपालमा पत्रकारिता गर्न बाटो सहज भएको हो जसका कारण नेपालमा करिब ४००० अनलाइन मिडियाहरु दर्ता भएका छन् । ती दर्ता भएकाहरु मध्ये कति बन्द भइसकेका छन् त कति बन्द हुने अवस्थामा पुगिसकेका छन् । सङ्ख्यात्मक रूपमा सञ्चार माध्यमहरूको वृद्धि भए पनि गुणस्तर भने खस्कँदो छ । यति धेरै अनलाइन मिडिया भए पनि प्राय जस्तो मिडियामा आउने समाचारका प्रकृति भने एउटै हुने गरेको पाइन्छ । कसले पहिला समाचार हाल्ने भन्ने होडबाजी त पत्रकारहरुमा छ तर सन्देशमूलक, खोजमूलक र नयाँ जानकारी दिने खालको समाचार हाल्नेमा होडबाजी भने पत्रकारहरुमा छैन । नेपालमा मिडिया व्यवसाय अधिकांशको लागि कमाइ गर्ने भाँडो मात्रै भएको छ । हामीले यदि १० वटा न्युज पोर्टलहरु खोल्यौ भने एउटा नयाँ, रोचक र सन्देश मूलक समाचारहरु पढन पाउँदैनौँ । अपबादमा मात्र कुनै कुनै मिडिया हाउसले मात्र खोजमुलक सामाग्री प्रकाशन गर्दछन् । भित्रको समाचार एउटै तर हेडलाइन मात्र परिवर्तन गरिएको हुन्छ । एउटा पत्रकार हुनका लागि आफूमा के–के गुण हुन आवश्यक छ भन्ने आधारभूत कुराहरूको जानकारी समेत यस क्षेत्रमा बर्षौ काम गरेका पत्रकारहरुमा छैन । नजानी पत्रकारितामा आउँदा यसको मूल–मन्त्रलाई कायम राख्न सकिँदैन । आजभोलि पत्रकारहरुमा रचनात्मा क्षमताको कमी छ । आफुले नै मिहिनेत गरेर समाचार लेख्ने भन्दा पनि अरुले गरेको मिहिनेतको उपभोग गर्ने चलन नेपालका पत्रकारहरुमा रहेको देखिन्छ । एउटा कुनै काण्ड सार्वजनिक भयो भने, सबै जना त्यसकै पछिल्तिर दौडिरहेका हुन्छन् जसका कारण समाचार पनि सबैका एउटै हुने भइहाल्यो । कुनै पत्रकारले खोज अनुसन्धान गरेर प्रकाशित गरेको समाचारमा भन्दा अरु मिडियाले नै कपी गरेर हालेको समाचार बढी सेयर हुने कुरा नेपाली मिडियामा नौलो भने होइन । हेडलाइन एउटा समाचार अर्को, आधिकारिक स्रोत नखुलाई समाचार हाल्ने त मिडियाको प्रचलन जस्तै भइसकेको छ । प्राप्त सूचनाको स्रोतसम्म पुग्ने जाँगर समेत नेपालका रिपोर्टरहरुमा छैन । जसका कारण समाचारले आफ्नै स्रोत हराउँदै जान थालेको छ । विविध समस्या खेप्दै नेपाली मिडिया अगाडि बढिरहेको छ । विभिन्न समस्यामा पत्रकारिता अध्ययन गरेका भन्दा नगरेका मान्छेहरुले मिडिया खोल्ने, क्षमता भन्दा पनि राजनीतिक शतिm प्रयोग गरेर त्यस क्षेत्रमा प्रवेश गर्ने, समाचार कक्षहरू इन्टर्न तहका पत्रकारले धान्ने, समयमा तलब नपाउने, डिजिटल प्रणालीको प्रयोगमा कमी आदि रहेका छन । मुलुकमा मिडियाको विकास बढ्दो रूपमा भए पनि ती मिडियामा काम गर्ने पत्रकारको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण दिने सङ्घसंस्था भने न्यून छन् । सञ्चार संस्थामा पनि ‘इन हाउस’ तालिम दिने प्रचलन कमै मात्रामा छ । जसका कारण नेपाली मिडियाहरुले गुणस्तरीय सामाग्रीहरु दिन सकिरहेको छैन । कुनै पनि मिडिया कस्तो बनाउने भन्ने प्रमुख जिम्मा त्यस संस्थाको सम्पादकको हातमा रहेको हुन्छ । तर अहिले एकदम मिहिनेती, सिर्जनात्मक सम्पादकहरुको भने नेपालमा कमी रहेको छ । अहिलेका सम्पादकहरुमा राम्रो समाचार दिनेमा भन्दा पनि कसरी पैसा कमाउने भन्ने मात्र सोच रहेको छ । सम्वाददाताहरुले समाचार के हो ? र कसरी बनेको हुन्छ ? भन्ने कुरा राम्रोसँग बुझेका पनि छैनन । सञ्चारक्षेत्रमा डिजिटल प्रणालीको प्रयोग बढेको छ तर कतिपिय पत्रकारहरुमा त्यससम्बन्धी ज्ञानको कमी रहेको छ ।संवाददाताले समाचारसँगै जिन्दगी बिताउनुपर्छ । समाचार हरेक क्षणमा बदलिइरहने हुनाले एउटा संवाददाताको समय प्रायः दौडादौडमै बितिरहेको हुन्छ । पत्रकारिता आरामदायी पेसा होइन । यो जहिलेपनि हतार–हतारमा गरिनुपर्ने कार्य हो । एउटा मिडिया राम्रो बनाउनमा त्यहाँ काम गर्ने सम्पूर्ण सदस्यहरु एकजुट भएर लाग्न पर्ने हुन्छ । एक जनाको प्रयासले मात्र कुनै पनि संस्था राम्रो हुन सक्दैन । वास्तवमा समाचार जहाँतहिँ हुन्छ, त्यसलाई चिनेर प्रस्तुत गर्न जान्नु मात्र पर्छ भन्ने कुरा नेपाली पत्रकारहरुले बुझ्न जरुरी रहेको छ ।

Comments

Popular posts from this blog

Misinformation on social media